ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ, र वैदिक सनातन संस्कारमा नारीहरूको यौन र प्रजनन स्वास्थ्यलाई दिइएको महत्त्वसँग गहिरो सम्बन्ध राख्छ। यो पर्व विशेष गरी रजस्वला भएका महिलाहरूको स्वास्थ्य र शुद्धिकरणसँग सम्बन्धित छ। परम्परागत मान्यता अनुसार, रजस्वलाका दिनहरूलाई चार देवीहरूका रूपमा तुलना गरिन्छ: पहिलो दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरेर शुद्ध हुने चलन छ।
वैदिक शास्त्रहरूमा रजस्वलालाई नारीहरूको प्राकृतिक प्रक्रिया र विशेष क्षमताको रूपमा हेरिएको छ। ऋषि पञ्चमीले यस प्राकृतिक प्रक्रियाप्रति समाजको ध्यान आकर्षित गराउँदै, यो सामान्य प्रक्रिया भएको सन्देश दिन्छ। गर्भाधान नभएका डिम्बहरूको निष्कासन नै रजस्वला हो, र यसलाई दोषको रूपमा नहेरी, सरसफाइ र आरामलाई प्राथमिकता दिँदै महिलाहरूको ख्याल राख्नुपर्छ।
ऋषि पञ्चमीमा गरिने विशेष कर्म
ऋषि पञ्चमीका दिन महिलाहरूले बिहानै उठेर ‘उपमार्ग’ नामक विशेष जडीबुटी प्रयोग गरेर दाँत माझ्ने गर्छन्। उपमार्ग एउटा प्राकृतिक वनस्पति हो, जुन रोगनाशक गुणले भरिपूर्ण छ। १०८ वटा उपमार्गका टुक्रा प्रयोग गरेपछि, महिलाहरू शरीरमा माटो लगाएर नजिकैको नदी, खोल्सो, वा तलाउमा गएर स्नान गर्छन्। स्नानपछि पञ्च भाग्यको सेवन गरिन्छ, जसमा दूध, दही, घ्यू, दुवो, कुश, र गोवर मिसाइन्छ। यसले शारीरिक शुद्धिका साथै रोगनिवारणमा मद्दत गर्ने विश्वास छ।
स्नान र पञ्च भाग्य ग्रहणपछि महिलाहरूले दियो, कलश, र गणेशको स्थापना गरी कश्यप, अत्रि, भार्गव, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ जस्ता ऋषिहरूको पूजा र आव्हान गर्छन्। विधिपूर्वक ब्राह्मणद्वारा सम्पन्न पूजा पश्चात् मात्र ऋषि पञ्चमीको अनुष्ठान पूरा हुन्छ।
रजस्वला र ऋषि पञ्चमीको सम्बन्ध
ऋषि पञ्चमी खासगरी महिलाहरूले आफ्नो रजस्वला अवधिमा अनजानेमा भएका गल्तीहरूका लागि क्षमा माग्न र शुद्धिकरणका लागि पूजा गर्ने पर्व हो। यो दिन, नारीहरूलाई समाजले शुद्धताको प्रतीकका रूपमा हेर्ने चलन छ। यद्यपि, रजस्वला कुनै दोष होइन, यो त नारीहरूको प्रजनन क्षमता र सृष्टिको मूल आधार हो। यो नारीहरूमा हुने प्राकृतिक प्रक्रिया हो, जसलाई सम्मानपूर्वक स्वीकार्नुपर्छ।
मंगल चौथी व्रत कथा र पूजा विधि
मंगल चौथी व्रतका दिन भगवान गणेश र माता दुर्गाको पूजा गरिन्छ। गणेश पुराणमा भनिएअनुसार, गणेशजीलाई खुसी पार्न सके चार प्रमुख पुरुषार्थ (धर्म, अर्थ, काम, र मोक्ष) को प्राप्ति हुन्छ। यस दिन व्रत, पूजा, र आराधना गर्ने व्यक्तिले सम्पूर्ण बाधा निवारण, शान्ति, र मंगलको अनुभव गर्ने विश्वास गरिन्छ।
पूजाका लागि धान, जौ, तिल, कुश, पञ्चामृत, अक्षता, सिन्दूर, नरिवल, फलफूल, धूप, दीप, रातो फूल, लड्डु, र दुबो जस्ता सामग्री तयार पार्नुपर्छ। पूजाको क्रममा पूर्व, उत्तर, वा पश्चिम दिशातर्फ फर्किएर दीप प्रज्वलन गरी गणेशको आवाहन गर्ने चलन छ। त्यसपछि दाहिने हातमा जौ, तिल, फूल, कुश, र जल लिएर संकल्प गरिन्छ, जसले पूजा सम्पूर्ण रूपमा सम्पन्न हुन्छ।
यसरी, ऋषि पञ्चमी र मंगल चौथीले धार्मिक आस्था, स्वास्थ्य, र शुद्धिकरणको सन्देश दिन्छन्, जसले नारी स्वास्थ्य र सम्मानलाई विशेष महत्त्व दिन्छ।