२०८२ साल भाद्र २२ गते आइतबार (सेप्टेम्बर ७–८, २०२७) का दिन खग्रास चन्द्र ग्रहण लाग्ने खगोलीय पूर्वानुमान गरिएको छ। नेपालमा पनि देखिने यो ग्रहण राति १०:११ बजेबाट प्रारम्भ भई १:४१ बजे समाप्त हुनेछ।
ज्योतिष शास्त्रअनुसार ग्रहणको समयमा मन्त्रसिद्धि, ध्यान, जप, पाठ, हवन र दानजस्ता धार्मिक तथा पवित्र कर्म गर्न अत्यन्तै लाभ हुने मानिन्छ। त्यसैगरी ग्रहण शुरु हुनुभन्दा करिब ९ घण्टा अगाडि नै सूतक लाग्ने भएकाले दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरू सबैलाई भोजन निषेध हुने उल्लेख गरिएको छ।

ग्रहणको समयमा के गर्नु हुँदैन ?
धार्मिक ग्रन्थहरूका आधारमा ग्रहणको समयमा केही कार्य नगर्नुपर्ने चेतावनी दिइएको छ। ‘स्मृति’ शास्त्रमा यसरी उल्लेख गरिएको छः
“निद्राया जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्वे बधे च नरकं व्रजेत् ।।”
यसको अर्थ:
ग्रहणको समयमा सुत्दा रोग लाग्ने,
पिसाब गर्दा गरीबी बढ्ने,
दिशा गर्दा किराको योनीमा जन्म हुने,
मैथुन गर्दा सुँगुरको योनीमा जन्म हुने,
तेलमालिस गर्दा कुष्ठरोग हुने,
भोजन गर्दा अधोगति हुने,
अरूलाई बाँध्दा सर्पको योनीमा जन्म हुने,
जीव हत्या गर्दा नरक प्राप्त हुने भनिएको छ।
धार्मिक दृष्टिकोण
ग्रहणलाई पापकर्म नाश गर्ने र पुण्यकर्म वृद्धिको अवसर मानिन्छ। यस अवसरमा स्नान, जप, ध्यान, दान तथा देवपूजाजस्ता कार्य गर्नाले विशेष फल प्राप्त हुने विश्वास गरिन्छ।
ज्योतिषविद्हरूका अनुसार चन्द्र ग्रहणको बेलामा आत्मशुद्धि, आध्यात्मिक साधना र परोपकारी कार्य गर्नाले जीवनमा सकारात्मक ऊर्जा र लाभ प्राप्त हुन्छ।