विश्वकर्मा पूजाको अवसरमा शुभकामना व्यक्त

विश्वकर्मा पूजाको अवसरमा शुभकामना व्यक्त

असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण, प्रविधि तथा सिर्जनाका अधिष्ठाता श्री विश्वकर्मा बाबाको पूजाको दिनका रूपमा मनाइन्छ। यस दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले भगवान् विश्वकर्माको सम्मानमा श्रद्धा र भक्तिभावका साथ पूजाआजा गर्ने गर्दछन्।

विश्वकर्मा बाबा को हुन्?

हिन्दू धर्मशास्त्रअनुसार भगवान् विश्वकर्मा हस्तकला, शिल्पकला र हतियार विज्ञानका माहिर देवता मानिन्छन्। उहाँलाई संसारका पहिलो अभियन्ता, कलाकार तथा वास्तुकारका रूपमा सम्मान गरिन्छ।

इन्द्रको वज्र,

भगवान शिवको त्रिशूल,

विष्णुको सुदर्शन चक्र,

हस्तिनापुर र द्वारिकाको महल,
यी सबै सिर्जना विश्वकर्माकै अनुपम कलाको उदाहरण मानिन्छ।

यसैले उहाँलाई “कलाका प्रेरणा, प्रविधिका आचार्य र हजारौं वस्तुगत रचनाका जनक” का रूपमा स्मरण गरिन्छ।

आधुनिक समाजमा विश्वकर्मा पूजाको महत्त्व

आजको आधुनिक युगमा पनि भगवान् विश्वकर्माप्रतिको श्रद्धा घटेको छैन। वैदिक कालदेखि सुरु भएको प्रविधि, हस्तकला र निर्माणका अभ्यासहरूको सम्मानस्वरूप नेपालका धेरै ग्यारेज, कारखाना, उद्योग, उत्पादन प्रविधि स्थल र धातुकामका कार्यस्थलहरू यस दिन विशेष रूपमा सजिन्छन्।

औजार, मेसिन, सवारीसाधनदेखि लिएर निर्माण सामग्रीसम्मलाई धोएर, रंगरोगन गरेर र फूलमालाले सजाएर पूजा गर्ने परम्परा अझै बलियो छ। यसले श्रम र सीपको महत्त्वलाई झन् गहिरो बनाउँछ।

पूजाको प्रथा

यस दिन विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी विशेष पूजा गर्ने गरिन्छ।

पूजापछि अर्को दिन उक्त मूर्ति नदी, तलाउ वा तलैयामा विसर्जन गर्ने चलन छ।

सवारीसाधन र मेसिनरीको पूजा विशेष महत्त्वपूर्ण मानिन्छ, त्यसैले यस दिन सार्वजनिक यातायातका साधनहरू सहज उपलब्ध नहुन सक्छन्।


यसरी यो दिन श्रमिक, प्राविधिक र निर्माण–उद्योगसँग सम्बन्धित प्रत्येक कार्यस्थल उल्लासपूर्वक झकिझकाउ हुन्छ।

पितृ कर्मसँगको सम्बन्ध

यस अवधिमा गरिने सोह श्राद्ध पनि महत्त्वपूर्ण छ। यसै क्रममा गरिने पितृकर्महरूले दिवंगत आत्मालाई मोक्ष मिल्ने र आत्माले शान्ति प्राप्त गर्ने विश्वास गरिएको छ। यसरी विश्वकर्मा पूजाले पितृ सम्मान र देवपूजा दुवैलाई एकै साथ जोड्ने काम गर्छ।

शुभकामना

यस विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा श्रमिक वर्गमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
मानव जीवनलाई सहज बनाउने सबै यान्त्रिक उपलब्धिहरू सधैं फापून्, हामी सबै दुर्घटनाबाट सुरक्षित रहून् र समाज सिर्जनशीलता, श्रम र सीपको कदर गर्दै अघि बढोस् भन्ने मंगलकामना गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top